मलेसियामा आयोजित यू–१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो।

क्वालालम्पुर := मलेसियाको बायुमास ओभलमा जारी यू–१९ महिला एसिया कपमा हिजो सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई हराएको छ । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् । टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३  र जोफिशान अयाजले १२ रन बनाए । नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।

जीतसंगै नेपाल सुपर-४ मा प्रवेश गरेको छ। समूहमा नेपाल र पाकिस्तानसँगै भारत छ। नेपालले आइसिसी यू-१९ विश्वकपअघि एसिया कप खेलेको हो । नेपालले अब आफ्नो समूहको अन्तिम खेलमा आज मंगलबार भारतसँग खेल्दैछ् ।