कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सको पहिलो जित, ‘प्लेयर अफ द म्याच’ घोषित।

काठमाडौं := नेपाल प्रिमियर लिग (एनपिएल)मा कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ । रोहितले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा लुम्बिनीको पहिलो जित सम्भव भएको हो ।

रोहितले ब्याटिङको क्रममा ८० रनको योगदान गरेसँगै चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना जिवित रहेको छ । एनपीएलमा अब लुम्बिनीले लिग चरणमा काठमाण्डु गुर्खाज र कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ। यी दुवै खेलमा जित हासिल गर्दै लुम्बिनीले प्लेअफ पुग्न थप अन्य खेलमा नतिजामा पनि भर पर्नुपर्ने छ ।

लुम्बिनीको जितमा कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे। ब्याटिङमा अर्धसतक प्रहार गरेका उनले बलिङमा पनि ४ विकेट हात पारे। लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले ओभरमा ८ विकेट गुमाएर एक सय ३४ रन बनायो।

चितवनका लागि लुक बेनकेनस्टेनले सर्वाधिक ३१ रन बनाए। यस्तै नर बहादुर शार्कीले २२, कुशल मल्लले २०, रिजन ढकालले १५, रवि बोपाराले १२ तथा सन्तोष कार्कीले १० रन बनाए। यस्तै रेमन सिमन्ड्सले दुई तथा साद बीन जाफर र अभिशेष गौतमले समान एक एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो। सुरुवातमै विकेट गुमाएर लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सम्हालिएर ब्याटिङ गर्दै पारीलाई अगाडि बढाएका थिए।

४९ रनमा चौथो विकेट गुमाएको लुम्बिनीका रोहित र साद बीन जाफरले पाँचौ विकेटका लागि ११४ रनको साझेदारी गरे। कप्तान पौडेलले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। यस्तै जाफरले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए। अर्जुन साउदले १५ रन बनाए। लुम्बिनीले सुरुवाती दुई ओभरमा २ रन बनाउँदा २ विकेट गुमाएको थियो।

चितवनका रिजन ढकालले ३ विकेट लिए। यस्तै कप्तान कुशल मल्ल र रंजित कुमारले समान एक एक विकेट लिए।

रोहितकुमार पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित

एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

मंगलबार भएको खेलमा लुम्बिनीलाई जिताउन अलराउण्ड प्रदर्शन गरेको उनले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । पौडेलले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनले ८० रन बनाउनुका साथै ४ विकेट लिएका थिए ।

रोहितले नै ‘सुपर फोर’ को अवार्ड जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।लुम्बिनीका साद बिन जफरले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।