काठमाडौं := नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराएको हो। १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमै सात विकेट गुमाएर पूरा गर्यो।
काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४० रन बनाए। कप्तान करन केसीले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाए। यस्तै माइकल लेभिटले २२ तथा गेरहार्ड इरास्मसले ३८ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो। कर्णालीका लागि शिखर धवनले अर्धसतकीय पारी खेले। उनले ४२ बलमा ३ चौका र ३ छक्को मद्दतमा अर्धसतक पुरा गरेका हुन्। ५१ बल खेलेका उनले ४ चौका र ५ छक्को प्रहार गर्दै ७२ रन बनाए।
यस्तै चाडविक वाल्टनले २१, जिशन मक्शुदले १४, बाबर हायातले १३ तथा गुल्शन झाले १२ रन बनाए । काठमाडौं का गेरहार्ड इरास्मसले २ विकेट लिए। काठमाडौले पहिलो जित दर्ता गर्दा कर्णलीले भने लगातार दोस्रो हार व्यहोरेको छ । यसअघि कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो।




















