काठमाडौं := नेपाल प्रिमियर लिग (एनपिएल)मा आज (सोमबार) दुई खेल हुँदै छन् । बिहान सबा ९ बजे हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, दिउँसो सबा १ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।
यसअघि आइतबार भने कुनै खेल भएनन् । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा भएको स्थानीय तहको उपनिर्वाचनका कारण आइतबार खेल राखिएको थिएन । शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको थियो । जनकपुरले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।
राष्ट्रिय टिमका विकेट किपर ओपनर आसिफ शेख मार्की रहेको जनकपुर बोल्ट्समा अर्का ओपनर अनिलकुमार साह र स्पिनर ललित राजवंशी हुनुहुन्छ । राष्ट्रिय टिमका नियमित सदस्यहरूको सहभागिताले जनकपुर बोल्ट्स बलियो देखिएको छ ।
टिममा रूपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर हुनुहुन्छ । जनकपुर बोल्ट्समा न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्याण्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलान्था र क्यानडाका हर्ष ठाकर हुनुहुन्छ ।
सोमबार जनकपुरसँग भिड्न लागेको कर्णाली याक्स पनि अर्को बलियो टिम हो । एनपिएलका आठवटा टिममध्ये सबैभन्दा धेरै प्रचारप्रसार गरिरहेको टिम हो कर्णाली याक्स । फास्ट बलर सोमपाल कामी मार्की रहेको कर्णाली उपाधि जित्ने दाउमा छ । कर्णाली याक्समा युवा अलराउण्डर गुल्शनकुमार झा, देव खनाल, नन्दन यादव, मौसम ढकालजस्ता स्टारहरू हुनुहुन्छ ।
टिममा अर्जुन घर्ती, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी पनि हुनुहुन्छ । कर्णाली याक्समा भारतका शिखर धवन, हङकङका बाबर हायत, वेस्ट इण्डिजका चाडविक वाल्टन, ओमानका जीशान मक्सुदलाई अनुबन्ध गरिएको छ । शिखर धवन एनपिएलकै सबैभन्दा ठूलो नाम हो ।
सोमबार हुने पहिलो खेलमा चितवन र काठमाडौं भिड्नेछन् । पावर हिटर कुशल मल्ल मार्की रहेको चितवन राइनोज बागमती प्रदेशको चितवनबाट प्रतिनिधित्व गर्ने टिम हो । टिममा मल्लसँगै रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, विपिन रावल हुनुहुन्छ ।
यस्तै सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दीपक बोहरा, रञ्जीत कुमार, गौतम केसी पनि टिममा हुनुहुन्छ । चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन, इंग्ल्याण्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन आबद्ध हुनुहुन्छ ।
युवा स्टार रहेको चितवन राइनोजमा लोफ्टी इटन र शरद भेषावकरको अनुभवले उत्कृष्ट प्रदर्शन गर्न सक्छ ।
यसैगरी चितवनसँग भिड्ने काठमाडौं पनि कम छैन । नेपाली टिमका फास्ट बलर करण केसी मार्की रहेको घरेलु टोली काठमाडौं गुर्खाज एनपिएलको उपाधि दाबेदार टिम हो ।
काठमाडौं गुर्खाजमा करणबाहेक साहब आलम, भीम सार्की, रसिद खानजस्ता युवा खेलाडी हुनुुहुन्छ । टिममा शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल हुनुहुन्छ । काठमाडौं गुर्खाजको विदेशी खेलाडीमा भने इंग्ल्याण्डका नेथन सोउटर, इंग्ल्याण्डकै स्टेफन इस्किनाजी, इंग्ल्याण्डका ड्यान डौथवेट, नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरासमस आबद्ध हुनुहुन्छ ।