काठमाडौं := नेपाल प्रिमियर लिग (एनपिएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकका रूपमा एनसेललाई स्वागत गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।
कार्यक्रममा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्सलगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति थियो । सो अवसरमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले प्रयोजन सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपिएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो । लुम्बिनी लायन्सका अध्यक्ष जिसीले भन्नुभयो, ‘एनसेलजस्तो अन्तर्राष्ट्रियस्तरको एवं नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकका रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्राण्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेछ ।’
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोरले भन्नुभयो, ‘हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहँदै आएका छौँ र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो । लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धता अझ मजबुत बनाउने विश्वास गरेका छौँ । ‘हामी तपाईंकै लागि’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेट जगत्लाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।’
कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोरले थप बोल्दै भन्नुभयो , क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउण्डेसनले हालैमात्र एनपिएलमा हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई चारवटा एजुकेसनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनपिएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ ।




















