काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राख्न थप १५ दिनको म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश भीमलाल बेल्बासेको इजलासले आइतबार रविलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि सात दिन, १० दिन र १३ दिन म्याद थप गरिएको थियो ।
आइतबार सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गर्नुभएको थियो ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गर्नुभएको थियो ।
सरकारी वकिल र पीडिततर्फका कानुन व्यवसायीले अनुसन्धानको प्रक्रिया जारी रहेको, तथ्य प्रमाण बुझ्ने काम बाँकी रहेको, विभिन्न कागजात आइनपुगेकोले म्याद थप गर्नुपर्ने तर्क गरेका थिए । लामिछानेका कानुन व्यवसायीले प्रमाणबिना नै लामिछानेलाई म्याद थप गर्नुपर्ने कुनै प्रमाण नरहेको दोहोर्याएका थिए ।




















