काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्धक रवि लामिछानेले सहकारीलाई चेक काटेर रकम दिएको फेला परेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आउनुभएका लामिछानेको हस्ताक्षर सहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको प्रहरीले फेला पारेको हो ।
सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि हिरासतमा रहनुभएका लामिछानेले काटेको चेकलाई प्रहरीले बलियो प्रमाण मानेको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीलाई तिरेको ४० लाख ४२ हजार रुपैयाँको चेकमा रविको हस्ताक्षर भेटिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसबारे उहाँसँग सोधपुछ र बयान लिने कामसमेत भइसकेको छ ।
सहकारी ठगीको अभियोगमा उहाँको संलग्नता पुष्टि गर्ने महत्वपूर्ण प्रमाण भएको प्रहरीको दाबी छ । तर, लामिछानेले भने यसमा पनि इन्कारी बयान नै दिनुभएको छ । लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको जिकिर गर्नुभएको प्रहरी स्रोत बताउँछ । ‘ड्रयरमा राखेका बेला अरू कसैले चेकमा नाम लेखेर पठाएको हुनसक्ने रविले बयान दिनुभएको छ ।
स्रोतका अनुसार रविको बैंक खाता केलाउँदा शंकास्पद तथ्यहरू फेला परेका छन् । गृहमन्त्री हुनुअघि नै रविको बैंक खातामा शंकास्पद रकम जम्मा भएको र निकालेको देखिएको प्रहरी स्रोतको दाबी छ । सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उहाँलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । काठमाडौंबाट पक्राउ पर्नुभएका उहाँलाई त्यसै राति कास्की पु¥याइएको थियो। उहाँ एक महिना बढी समयदेखि कास्की प्रहरीकै हिरासतमा हुनुहुन्छ ।




















