युट्युबर भ्लगर रतन कार्की यतिबेला नेपाल प्रहरीको उच्च निगरानीमा, चाडैं पक्राउ पर्न सकिने।

काठमाडौं := युट्युबर भ्लगर रतन कार्की यतिबेला नेपाल प्रहरीको उच्च निगरानीमा रहेका छन् । उनलाई नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखी नेपाल झिकाइने भएको छ । २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भरखरै केहि दिन पहिले सम्पन्न साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित रहेका थिए । उता सोही समयमा जापानमा बस्ने एक जना भ्लगर रतन कार्कीले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरेका थिए ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले भनेका छन्, ‘तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दैछु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ, आज गरिएन भने हामी धेरै पछुताइन्छ ।’ उनको सो भनाइ प्रधानमन्त्रीप्रति लक्षित थियो ।

साथै रंगशालमा काठमाडौँका मेयर बालेनको समर्थन र प्रधानमन्त्रीको विरुद्धमा नाराबाजी गर्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । नाराबाजी गर्नेहरूमा नारायण विष्टसहित ५–६ जना थिए ।

उनीहरू रास्वपा समर्थक रहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए। उनले भने, ‘नाराबाजी गर्नेहरूको पहिचान गरेका छौँ, उनीहरूबारे अनुसन्धान भइरहेको छ ।’ नाराबाजी गर्नेहरुविरुद्ध पक्राउ अनुमति लिएर पक्राउ गर्ने प्रहरीको तयारी छ ।