इन्डोनेसिया (एजेन्सी):= अन्तर्राष्ट्रिय अधिकारीहरुका अनुसार पूर्वी इन्डोनेसियामा सोमबार बिहान भएको ज्वालामुखी विष्फोटका कारण १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाली ज्वालामुखी तथा भूविज्ञान प्रकोप न्यूनीकरण केन्द्र (पीभीएमजी) का अनुसार पूर्वी नुसा टेङ्गारा प्रान्तको फ्लोरेस टापुमा अवस्थित माउन्ट लेभोतोबी लाकी-लाकी स्थानीय समय अनुसार राति ११:५७ मा विष्फोट भएको थियो।
पीभीएमजीका प्रवक्ता हादी विजयाले आगोको लाभा र चट्टानहरू खाडलबाट करिब ४ किलोमिटर (दुई माइल) टाढाका गाउँहरूमा पुगेर स्थानीय मानिसहरूको घरमा आगो र क्षति पुर्याएको बताए। स्थानीय अधिकारीका अनुसार विस्फोटबाट सात गाउँ प्रभावित भएका छन् ।प्रत्यक्षदर्शीहरूले बीबीसी न्यूजसँग भिडियो फुटेज साझा गरेका छन् जसमा मानिसहरू ज्वालामुखीको खरानी, चट्टानका टुक्राहरू र घरहरू जलेको देखाइएको छ।
इन्डोनेसिया देश प्यासिफिक “रिङ अफ फायर” मा अवस्थित छ । यो धेरै टेक्टोनिक प्लेटहरू माथि उच्च भूकम्पीय गतिविधि भएको क्षेत्र हो । यसमा लगभग १३० सक्रिय ज्वालामुखीहरू छन्। ज्वालामुखीबाट निस्केको माटो खेतीपातीका लागि उर्वर हुने भएकाले धेरै समुदायहरू खेतीपातीका लागि उनीहरू नजिकै बस्छन्।




















