सहकारी र राहदानी काण्डले रवि जेल जाने निश्चित, आजीवन चुनाव लड्न पाउने छैनन् : डा.मुकुल ढकाल।

काठमाडौं := रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको दाबी गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले रवि जेल जाने निश्चित भएको दाबी गर्नुभएको हो ।

‘सहकारीको विषय लगभग टुंगिन लागेको छ । रवि लामिछाने जेल जाने निश्चित छ,’ मुकुलले लेख्नुभएको छ। सहकारीको विषय लगभग टुंगिन लागेको भए पनि राहदानी दुरुपयोगको विषय बाँकी रहेको उहाँको भनाइ छ । लामिछानेको दोहोरो राहदानीको मुद्दा टुंगो लागे लामिछानेले आजीवन निर्वाचन लड्न नपाउने उहाँको ठोकुवा छ ।

‘सहकारीको विषय लगभग टुंगिन लागेको छ । रवि लामिछाने जेल जाने निश्चित छ । अब कुरा गरौँ राहदानी दुरुपयोगको प्रमाणका बारेमा । ९ फागुन २०७० मा अमेरिकी नागरिकता र सोही वर्ष २१ फागुनमा अमेरिकी राहदानी लिएका रवि लामिछाने २२ जेठ २०७१ मा नातेदार भिसामा नेपाल आएका थिए ।

१३ जेठ २०७२ मा उनले पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिए,’ ढकालले लेख्नुभएको छ, ‘त्यसपछि उनले ४ जेठ २०७५ मा अमेरिकी नागरिकता र राहदानी त्याग्न दूतावासमा निवेदन दिएका थिए । १३ जेठ २०७२ देखि ४ जेठ २०७५ सम्म उनीसँग नेपाल र अमेरिका दुवै देशको राहदानी रहेको देखिन्छ । दोहोरो राहदानीको यो मुद्दा टुंगो लागे रवि लामिछाने आजीवन नेपालको कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।’