म गोरखा मिडियामा रहँदा सहकारीबाट आएको खर्च भएको पैसाको जिम्मेवारी लिन्छु, र कानुनी कारबाही भोग्छु: रवि लामिछाने।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गोरखा मिडिया नेटवर्कमा रहँदा खर्च भएको रकमको जिम्मेवारी लिने बताउनुभएको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्धकसमेत रहनुभएका लामिछानेले सहकारीबाट आएको रकम खर्च गर्ने कार्यमा आफ्नो संलग्नता स्वीकार गर्दै कानुनी कारबाहीको भागेदार हुने स्वीकार गर्नुभएको हो ।

तर, सहकारीको रकम ल्याउने कार्यमा भने आफ्नो कुनै संलग्नता नरहेको उहाँले दोहोर्‍याउनुभएको छ । संसदीय विशेष छानविन समितिले गरेको सिफारिश सही रहेको भन्दै अक्षरशः पालना गर्न आफू तयार रहेको उहाँको भनाइ छ । संसदीय छानविन विशेष समितिले सहकारी रकम मिडियामा ल्याएपछि खर्च गर्ने कार्यमा उहाँसहितको संलग्नता रहेको भन्दै सरकारलाई कारबाही सिफारिश गरेको थियो ।

समितिले संसद्मा प्रतिवेदन बुझाएलगत्तै भने लामिछानेले आफूले ‘क्लिन चिट’ पाएको भन्दै कुप्रचार गर्नुभएको थियो । तर, प्रतिवेदनसमेत सार्वजनिक भएर रविलाई पक्राउ पर्ने चर्चाबीच उहाँले पहिलोपटक आफ्नो गल्ती स्वीकार गर्दै कारबाहीको भागीदार हुने स्वीकार गर्नुभएको हो ।

‘सहकारीको रकम ल्याउन मेरो व्यक्तिगत संलग्नता छैन भनेर संसदीय विशेष छानविन समितिले पनि भनेको छ । यसमा कसैले भ्रम राख्न आवश्यक छैन,’ मंगलबार राति फेसबुक लाइभमार्फत आफ्ना कुरा राख्दै उहाँले भन्नुभएको छ, ‘तर, म कार्यरत रहेका बेलामा आएको पैसाको कानुनी कारबाहीको भागीदार हुने कुरालाई नकार्न मिल्दैन ।

समितिले पनि रकम आएपछि खर्च गर्ने कार्यमा संलग्न भन्दै कारबाही सिफारिश गरेको छ । आफू कार्यरत रहेका बेला आएको रकमको जिम्मेवारी लिनुपर्छ । कानुनी कारबाहीको भागीदार हुनुपर्छ । यो कुरा मैले बंग्याउन मिल्दैन । मिडियाको खातामा आइसकेपछि खर्च गर्ने/गराउने काममा संलग्न रहेकोमा कानुनी कारबाहीको भागीदार हुनुपर्छ । यसमा म भाग्न मिल्दैन ।’

तर, आफूले सहकारीको रकम नलिएको विषयलाई समेत राजनीतिक प्रतिशोध साँधेर उचालिएको उहाँको आरोप छ । रकम ल्याउने कार्यमा आफ्नो संलग्नता रहेको समिति र त्यसअघि प्रहरीले पनि स्पष्ट पारिसकेको उहाँको भनाइ छ । ‘सहकारीबाट रकम ल्याउनमा मेरो दोष छैन ।

समितिले पनि भन्यो र त्यसअघि प्रहरीले पनि भनेको थियो,’ उहाँले भन्नुभएको छ, ‘कांग्रेसले प्रतिशोधको रूपमा लिएको हो कि ? आफ्नो इगो हृयाण्डल गर्न खोज्नुभयो कि भन्ने लाग्यो । समितिको कुरा मैले अक्षरशः पालना गर्नुपर्छ । म तयार छु ।’

संगठित अपराधको मुद्दा चल्ने डर

रास्वपा सभापति रवि लामिछानेले सरकारले संगठित अपराध र सहकारी ऐनअनुसार कारबाही चलाउने कोसिस गरिरहेको बताउनुभएको छ । संगठित अपराधमा मुद्दा चलाउने चलखेल नगर्न उहाँले सरकारलाई आग्रहसमेत गर्नुभएको छ । ‘हरेक प्रकरणमा मैले कानुनी बाटो गएर, अदालत पुगेर, प्रहरी पुगेर त्यसको प्रक्रियाबाट म बाहिर निस्केको छु’, उहाँले भन्नुभयो, ‘यहाँ पनि म जान्छु । मुद्दा चाहिँ के हो ? कहीँ संगठित अपराधको मुद्दा लगाउन सकिन्छ कि भनेर कोसिस भइरहेको छ । बस् यो चलखेल सरकारले नगरोस् । मेरो यति मात्र बिन्ती छ ।’

लामिछानेले दशैँ, तिहारजस्ता पर्वको अवसर पारेर आफूलाई पक्राउ गरिनसक्ने अनुमान गर्नुभएको छ । तर त्यसरी पक्राउ गरिए प्रतिवादमा उत्रने उहाँले चेतावनी दिनुभएको छ । ‘सरकारले अन्याय गर्‍यो भने नागरिकले नबचाए कसले बचाउने ?’, उहाँले भन्नुभएको छ, ‘हिजो पनि न्यायका निम्ति साथीहरूले सघाउनु भएको हो, आज पनि अन्याय गर्‍यो सरकारले भने चाहिँ दशैँ, तिहार, छठ जेसुकै हुन्छ अन्यायका विरुद्धमा उठ्नुहोला ।’