मिडियामा मैले कार्यक्रम उत्पादन र सञ्चालनको काम मात्रै हेरेकोले आर्थिक पक्ष थाहै छैन: रवि लामिछाने

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेले सहकारी संस्था बचत रकम ठगी दुरुपयोग मुद्दा सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा आफूले गोरखा मिडियामा कार्यक्रम उत्पादन र सञ्चालनको पक्षमात्र हेरेको र आर्थिक पक्ष जीबी राईको जिम्मेवारी रहेको बयान दिएका छन् ।

शुक्रवार सिंहदरबारमा समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा गरेको सोधपुछमा उनले आर्थिक पक्ष आफ्नो जिम्मेवारीमा नरहेकोले मलाई यस् बारे केहि थाहै नभएको बताएका हुन्।

छानबिन समितिका सभापति सूर्यबहादुर थापाले सभापति लामिछानेले आफू प्रवन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमामात्र केन्द्रित रहेको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको बताएको पनि जानकारी दिए।

‘आजको बैठकमा हामीले गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा, विभिन्न छानबिनबाट देखिएका विषय, संसदमा उठेका, सार्वजनिक सञ्चारमाध्यममा आएका प्रश्नहरुको सन्दर्भमा दुईजनालाई सोधपुछका लागि बोलाएका थियौँ। पहिलो गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशीसँग सोधपुछ गर्‍यौँ‚’ थापाले भने, ‘गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक, शेयर होल्डर कार्यक्रम निर्माण र प्रस्तोतको मुख्य जिम्मेवारीमा रहनुभएका हाल प्रतिनिधिसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँगको सोधपुछमा उहाँले आफ्नो सहकारीसँगको, गोरखा मिडियासँगको सम्बन्धबारे, जीबी राईसँगको चिनजानका बारे, जीबी राईको व्यावसायिक संलग्नताबारे बताउनुभएको छ।’

जवाफमा लामिछानेले आफ्नो नाममा कहाँबाट कसरी रकम जम्मा भयो भन्ने कुरा जीबी राईलाई थाहा हुने बताएको  समिति सभापति थापाले बताए। ‘करिब ५० वटा प्रश्नहरु उहाँसँग छन्। आधा जतिमा सोधपुछ गरिरहेका छौँ। विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम, ती सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकतासहितका चिजहरु त्यहाँ समावेश नभएको अहिलेसम्म ती कुराहरु राख्नुभयो‚’ थापाले भने‚ ‘कहाँबाट कसरी रकम जम्मा भयो भन्ने कुरा जीबी राईलाई थाहा हुने विषय राख्नुभएको छ।’