स्वदेश फर्किने तयारीमा रहेका श्रमिक यमबहादुर बिकले मलेसियामै गरे आत्महत्या।

क्वालालम्पुर (मलेसिया):= मलेसियाबाट नेपाल फर्किने तयारीमा रहेका एकजना नेपाली श्रमिकले स्वदेश फर्किनु भन्दा पहिल्यै मलेसियामै झुन्डिएर आत्महत्या गरेको छ ।

नेपाल ठेगाना पाल्पा जिल्ला निवासी पासपोर्ट नम्बर १२०४५६९३ भएका यम बहादुर बिकले राजधानी क्वालालम्पुरमा अवस्थित एक होस्टेलमा रुमभित्रै यहीँ अगस्ट २२ तारिख सबेरैको समयमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको मलेसियास्थित नेपाली राजदूतावासले बताए ।

जानकारी अनुसार यम बहादुर बिक सन् २०२२ सेप्टेम्बर महिनामा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा एक म्यानुफ्याक्चरिङ् कम्पनीमा काम गर्न आएका थिए । रोजगारदाता कम्पनीको सहयोगमा गत बर्ष सेप्टेम्बरमा भिसाको अवधी सकिएर चेकआउट मेमो लगायत प्रक्रिया पूरा गरेर स्वदेश फर्किने बेला केयलआईए विमानस्थलबाट भागेर अवैधानिक बसि काम गर्दै आएका थिए ।

पछिल्लो केहि बर्षदेखि अवैधानिक रहेका यम बहादुर बिक अन्ततः आफु स्वदेश फर्किने भनेर केहि दिन पहिले मात्रै क्वालालम्पुर कोतरायामा रहेका एकजना नेपाली एजेन्टको सम्पर्कमा आएर प्रक्रिया थालेका थिए , ति नेपाली एजेन्टले मृतक यम बहादुर बिकलाई स्वदेश फर्काउन टिकट समेत खरिद गरिसकेको र अध्यागमनमा जरिवाना तिर्न यहीँ अगस्ट २२ तारिखको अपोइन्टमेन्ट लिएको तर बिहानको सुर्य उदाउन नपाउदै यम बहादुर बिक झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जानकारी दिए ।

मृतक यम बहादुरले किन आत्महत्या गरे ? भन्ने बारे खुल्न सकेको छैन । मृतकको शव अहिले पोस्टमार्टम को लागि स्थानीय प्रहरीको सहयोगमा अस्पतालमा लगिएको र पोस्टमार्टम सकिएपश्चात आवश्यक प्रक्रिया पूरा गरि परिवारको समन्वयमा अन्तिम दाहसंस्कारको लागि नेपाल फर्काइने तयारी रहेको  दूतावासले बताए ।