काठमाडौं := चलचित्र ‘बुलाकी’ श्रीलंकाको जाफ्ना अन्तर्राष्ट्रिय सिनेमा फेष्टिभल २०२४ मा छनोट भएको छ। फेष्टिभलको ‘उत्कृष्ट डेब्यु फिल्मको प्रतिस्पर्धा’ खण्डमा चलचित्र छनोट भएको निर्माताद्वारा जारी वक्तव्यमा भनिएको छ । फेष्टिभलको यस वर्षको संस्करण सेप्टेम्बर २ देखि ८ सम्म आयोजना हुँदैछ । लक्ष्मण सुनार निर्देशित यो चलचित्र अहिले नेपालका हलमा प्रदर्शन भइरहेको छ । चलचित्र शुक्रबारदेखि सिनेमाघरमा पुनः प्रदर्शनमा आएको हो ।
गत वर्षको फेष्टिभल संस्करणमा अर्को नेपाली चलचित्र ‘द रेड सुट्केस’ले पुरस्कार जितेको थियो । ‘तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहीं न कहीं सार्थकता पाउने रहेछ । श्रीलंकाको प्रतिष्ठित सिनेमा महोत्सवमा बुलाकी छनोट भएको खुशी साट्न पाउँदा हर्षित छु,’ निर्माता तथा अभिनेता विराज विष्टले भन्नुभएको छ ।
अर्को सातादेखि अन्तर्राष्ट्रिय प्रदर्शनको थालनी हुने उहाँले जानकारी दिनुभयो । चलचित्र विकास बोर्डले समेत पुरस्कृत गरेको यो चलचित्र यसअघि देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड समारोहमा पुरस्कृत भइसकेको छ । पश्चिम नेपालको कर्णाली र सुदूरपश्चिम भेगको सामाजिक कथा उठान गरेको चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।




















