काठमाडौं := वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांशलाई वैदेशिक रोजगार बचतपत्रबारे जानकारी नै नरहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको उक्त अध्ययनमा आठ प्रतिशतलाई मात्रै वैदेशिक रोजगार बचतपत्रबारे जानकारी रहेको पाइएको हो ।
वैदेशिक रोजगार बचतपत्र आकर्षक बनाउन यसको ब्याजदर तुलनात्मक रूपमा उच्च हुने गरेको छ । यस्तो बचतपत्र आवश्यकताअनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन सकिने व्यवस्था छ ।
आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र आहृवान भएकोमा जम्मा ७६ करोड २३ लाख अर्थात् ४.९ प्रतिशतमात्र बिक्री भएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौंबाहिरका झापा–काँकडभिट्टा, वीरगञ्ज-रक्सौल, भैरहवा-सुनौली र धनगढी-गौरीफण्टा नाकामा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका तीन सय ८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा करिब ३० प्रतिशतले पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेको बताएका थिए । तीन सय ८५ मध्ये १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रबारेमा जानकारी रहेको तर खरिद नगरेको पाइएको छ ।
वैदेशिक रोजगार बचतपत्रबारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने कारण उल्लेख गरेका छन् ।
राष्ट्र बैंकले वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका तीन सय ८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेण्टसँग इमेल सर्वेक्षण गरेको हो ।
त्यस्तै वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेण्टका १६ प्रतिनिधिहरूसँग गरिएको इमेल सर्वेक्षणअनुसार ६२.५ प्रतिशत रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रबारेमा सोधनी गरेको तर खरिदमा चासो नदिएको उल्लेख गरेका छन् । काठमाडौंस्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षणअनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रका बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका छन् ।
राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र अपेक्षित रूपमा परिचालन हुन नसकेको सन्दर्भमा प्रवद्र्धनका उपायहरू सुझाउन अध्ययन गरेको हो । अध्ययनले वैदेशिक रोजगार बचतपत्र प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत सुधार र प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएको छ ।