सरकारले विभिन्न १९ देशका लागि नेपाली राजदूत नियुक्ति गर्ने, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना।

काठमाडौं := सरकारले विभिन्न १९ देशका लागि नेपाली राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी देशहरू भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ समीकरणपछि सरकारले अमेरिका, बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, पाकिस्तान, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनीका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद् बैठकले मित्रराष्ट्र भारतका लागि अहिलेका राजदूत शंकर शर्मालाई नै निरन्तरता दिएको छ भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी, अन्य देशहरू चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्रप्रसाद घिमिरे, जर्मनीका लागि शैल रूपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल, इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल र अस्ट्रेलियाका लागि कान्ता रिजाललाई नेपाली राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । स्पेनका लागि सनिल नेपाल, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिनाको नाम सिफारिस गरिएको छ ।