काठमाडौं:= ब्रिजस्काई इन्टरनेसनल प्रालि नामक म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने गरेको तथ्य बाहिरिएकोे छ । ब्रिजस्काईद्वारा मौरिससमा बेचिएकी एक महिला अन्य मुलुकमा रहेका नेपालीको सहयोगमा गत हप्ता नेपाल फर्किनुभएको छ । उहाँ हुनुहुन्छ, रुपन्देही सैनामैना नगरपालिका–११ वनकट्टीकी सरस्वती चौधरी । उहाँले नै आफू बेचिएको बताएपछि ब्रिजस्काईको उक्त तथ्य बाहिरिएको हो ।
सरस्वती चौधरीलाई एजेण्ट बुद्धिराज न्यौपानेले ब्रिजस्काई इन्टरनेसनल प्रालिसम्म पुर्याएका थिए । चौधरीले मौरिससको फायरमाउण्ट टेक्सटायल कम्पनीको लागि भनेर न्यौपानेलाई पचास हजार बैंकमार्फत र साढे दुइलाख नगदै दिनुभएको थियो । उक्त नगद लिएपछि न्यौपानेले आफूलाई ब्रिजस्काईको जिम्मा लगाएको चौधरीले बताउनुभयो ।
ब्रिजस्काईले उहाँलाई मौरिसस पनि पठायो तर त्यहाँ पुगेपछि मात्र उहाँले आफू टेक्सटायल कम्पनीमा नभई घरेलु कामदारका रूपमा आएको थाहा पाउनुभयो । ब्रिजस्काईले विभागको काठमाडौं कार्यालयबाट व्यक्तिगत श्रम, स्वीकृति निकालेर मौरिसस पठाएको देखिन्छ । आवश्यक कागजातले पनि ब्रिजस्काईले नै पठाएको पुष्टि भएको छ ।
ब्रिजस्काईको एलटी नं.२८५२३१ बाट उहाँलाई मौरिसस पठाइएको हो । उक्त एलटी नम्बरमा ५० जना महिला र ५० जना पुरुष कामदारको मागपत्र सन् २०२३/०३/२३ मा प्रमाणीकरण गरी त्यसकै आधारमा व्यक्तिगत श्रम, स्वीकृति निकाली लेडिसरोजिनी जगनउथमा घरेलु कामदारको रूपमा पठाएको देखिन्छ । ब्रिजस्काई इन्टरनेसनलको इजाजत पत्र नं.५७३ रहेको छ । पीडित सरस्वतीका अनुसार न्यौपानेलाई रुपन्देही, सैनामैना गाउँपालिका–११ मा स्थाई बसोवास गर्ने सुनील रसाइलीले चिनजान गराएका थिए ।
मासिक पाँच सय अमेरिकी डलर तलबमान हुन्छ भनेर ब्रिजस्काई इन्टरनेसनल र एजेण्ट बुद्धिराज न्यौपानेले उहाँलाई मौरिसस पठाएका थिए । तर, सरस्वतीले मोरिससको पन्ध्र हजार करिब नेपाली ४२ हजार ८६० मात्र पाउनुभयो । चौथो महिनाको तलब माग्दा तँलाई म्यानपावरले ‘गिफ्ट’ दिएको हो । मैले तलाई किनेर ल्याएको भनेपछि चौधरीले आफू बेचिएको थाहा पाउनुभयो । सुरुमा त्यहाँबाट भाग्न धेरै प्रयास गर्दा पनि आफू असफल भएको उहाँले सुनाउनुभयो ।
सरस्वती र अर्की एक महिलालाई पठाएकोमा अर्की महिलाको अवस्था कस्तो रहेको छ थाहा नभएको सरस्वतीले जानकारी दिनुभयो । सरस्वतीले आफूमाथि शारीरिक शोषण भएको पनि बताउनुभयो । उहाँ घरको छतबाट हामफालेर भाग्न सफल हुनुभएको हो । उहाँ कहिलेकाँही टिकटकमा लाइभ बस्नुहुन्थ्यो ।
उहाँको लाइभमा कतारमा रहेका किसन राई जोडिनुभयो। सरस्वतीले आफ्नो पीडा बताउनुभयो । त्यसपछि राईले पोर्चुगल, कतार, नर्वे लगायतका मुलुकमा रहेका नेपालीहरूसँग समन्वय गरी आफूलाई नेपाल पठाएको उहाँले जानकारी दिनुभयो । सरस्वती अहिले गोंगबुस्थित एक गेष्टहाउसमा कोठा लिएर बस्नुभएको छ ।
म्यानपावर व्यवसायीहरूले संस्थागत रूपमा रकम लिएर व्यक्तिगत श्रम, स्वीकृति निकाल्ने गरेको निकै लामो समय भयो । तर, नियमनकारी निकायहरूले चासो राखेको देखिँदैन । काठमाडौं कार्यालयलगायत विभागको सातै प्रदेशमा रहेका शाखा कार्यालयबाट यसरी संस्थागत रूपमा रकम लिएर व्यक्तिगत श्रम, स्वीकृति दिइरहेका छन् । यसको ज्वलन्त उदाहरणका रुपमा सरस्वती चौधरीलाई लिन सकिन्छ ।
पोर्चुगलबाट धनबहादुर राई, सुरेश लामा, लोकबहादुर धन्त्याल, शेरबहादुर मोक्तान, विक्रम राई, रीता क्षेत्री, डोमा शेर्पा, रिलामु शेर्पा, शान्ति सेन्ताङ, अञ्जु लामा, जीवन रिमाल समेतबाट २५० युरो संकलन गरी सरस्वतीलाई नेपाल फर्काइएको थियो । बुद्धिराज न्यौपाने हाल सम्पर्कमा छैनन् ।