काठमाडौं := नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेको केही समयमै ओलीले प्रधानमन्त्रीमा दावी पेश गरेका हुन्।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार भर्खरै राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनका लागि दावी पेश गरिएको छ। एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर राष्ट्रपति कार्यालय शीतलनिवास पुगी दावी पेश गरेका हुन्। कांग्रेस-एमाले नयाँ गठबन्धनलाई जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समेत साथ दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० गते अपरान्ह ५ बजेभित्र दावी पेस गर्न आह्वान गरेका थिए।





















