स्काईब्लु इन्टरनेसनल ओभरसिजबाट साउदी गएका चार नेपाली कामदार अलपत्र।

साउदी अरेबिया := स्काईब्लु इन्टरनेसनल ओभरसिज नामक म्यानपावरबाट वेल्डरको काम लागि साउदी अरब गएका चारजना नेपाली अलपत्र परेका छन् । स्काईब्लुले सन् २०२२/०७/०४ मा अन्तिम श्रम, स्वीकृति निकाली उनीहरूलाई वेल्डरको काममा साउदी पठाएको थियो । अलपत्र पर्नेमा मधुसुदन रोका मगरलगायत हुनुहुन्छ ।

गत चार महिनादेखि तलब नपाएको उनीहरूले गुनासो गरेका छन् । सन् २०२४/१२/२९ मा उहाँहरूको करार सम्झौता सकिँदै छ । नेपालबाट तीन महिनाको भिसामा अन्तिम श्रम, स्वीकृति निकालेर उहाँहरूलाई साउदी पठाएको पुष्टि हुन्छ । तर, तीन महिनाको भिसापछि उहाँहरूको भिसा थपिएन ।

एलटी नम्बर २३८४८१ मा दुईवर्ष करार अवधि भनेर श्रम, स्वीकृति दिए पनि हाल मगरलगायत चार जनाको भिसा थपिएको छैन । नेपालमा गरेको सम्झौता विपरीतको कार्य गरेको, सेवा, सुविधा र तलब नदिएको उहाँका पारिवारिक स्रोतले जानकारी दिएको छ । जम्मा तीन महिनाको भिसामा उनीहरूलाई हामसम्म काममा लगाएको र नेपाल फर्किन समस्या परेकाले उद्वारको लागि मधुसुदनका आफन्त वेदबहादुर रोका मगरले वैदेशिक रोजगार विभागमा निवेदन दिनुभएको छ ।

यो वैदेशिक रोजगार ऐन २०६४ को दफा ४७ र ५२ विपरीतको कार्य हो । विभागले म्यानपावर कम्पनीलाई नियमसंगत तरिकाले कारबाही गरेको खण्डमा तीन लाख जरिवाना, इजाजत पत्र खारेज र तीन वर्ष कैद सजाय भोग्नुपर्छ । इजाजत नम्बर १४६२ स्काईब्लु इन्टरनेसनल ओभरसिजका सञ्चालकद्वय रामप्रसाद नेपाल र दीपक राईले प्रतिव्यक्ति एकलाख ६० हजार नगद लिएर दस हजारको रसिद दिएका छन् ।

विगतमा स्काईब्लु इन्टरनेसनल ओभरसिजलाई नियमविपरीत कामदार पठाएकोमा वैदेशिक रोजगार विभागले छापामारी महत्वपूर्ण कागजात र कम्प्युटर, हार्डडिस्क जफत गरेको थियो । म्यानपावरका सञ्चालक दीपक राईले उनको ‘मल्टिपल ट्राभल्स एण्ड टुर्सबाट व्यक्तिगत रूपमा कामदार पठाउने गरेको खुलेको थियो । ट्राभल्स हालसम्म पनि सञ्चालनमा छ ।