सप्तकोशी नदीको जलसतह बढ्दै, कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिए।

धरान:= सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार आठ सय क्युसेक पुगेको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।