काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान)ले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ । क्यान कार्यसमितिको बैठकले आगामी नोभेम्बर-डिसेम्बर (कात्तिक-मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको हो । यद्यपि प्रतियोगिताको मिति भने तय भइनसकेको प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।
बैठकले त्रिवि क्रिकेट मैदानको पिच पुनः निर्माण गरी स्तरोन्नति गर्ने, मैदान विस्तार एवं व्यवस्थित गर्न फेन्सिङ सार्ने, ढल व्यवस्थापन गर्ने, हाल सञ्चालनमा रहेको जिमहललाई व्यवस्थित गरी उपकरणहरू थप गर्नेलगायतका निर्णयसमेत गरेको छ ।
उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने
क्यानले केन्द्रीय उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ । क्यानको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैलाएको भन्दै स्पष्टीकरण सोध्न लागेको हो । उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दुर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने भएको हो ।
‘विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरूलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा संघका पदाधिकारी, सदस्य, संघसँग आबद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरूले संघको निर्णय विपरीत हुँदै नभएको आधारहीन कुराहरूको अन्तर्वार्ता एवं भ्रामक प्रचार गरी सामाजिक सञ्जालमा समेत सेयर गरेको पाइएको र जसले गर्दा समग्र नेपाली क्रिकेटको सफलताका लागि एकजुट भएको अवस्थामा पनि संघसँग सम्बन्धित व्यक्तिहरूको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको यस संघले महसुस गरेकाले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई संघको विधानबमोजिम स्पष्टीकरण सोधी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पारित गरियो,’ संघले भनेको छ ।
अप्सरी बेगम निलम्बनमा
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी अप्सरी बेगमलाई निलम्बन गरेको छ । संघको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा व्यवस्थापन र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै निलम्बन गरेको जनाएको छ। बन्द प्रशिक्षणका क्रममा अप्सरीले आचारसंहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
क्यानले भनेको छ, ‘एसिसीको कार्यक्रमअनुसार जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा सञ्चालन हुने वुमन्स टी-२० एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी काठमाडौंमा सञ्चालन भइरहेको बन्द प्रशिक्षण शिविरका दौरान नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी खेलाडी अप्सरी बेगमले राष्ट्रिय महिला टोलीका टिम व्यवस्थापक र टिम प्रशिक्षकमाथि अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको हुँदा निज खेलाडीलाई तत्कालका लागि निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरियो ।’