काठमाडौं := यसअघि दशरथ रंगशालामा जेठ २४ गतेका लागि तय भएको फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल साउदी अरेबियामा हुने भएको छ ।
एसियन फुटबल महासंघ (एएफसी) ले दुई टोलीबीचको खेल जेठ २४ गते ‘न्युट्रल भेन्यु’ साउदी अरेबियाको प्रिन्स मोहम्मद विन फहद रंगशालामा सञ्चालन गर्ने भएको हो। एएफसीले दशरथ रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य रहेको भन्दै साउदी अरेबियामा खेल खेलाउन निर्देशन दिएको हो ।
यसअघि युएईमा भएको पहिलो लिगमा नेपाल ४-० गोलले पराजित भएको थियो । दशरथ रंगशालाको निरीक्षण गर्न आएको एएफसीका प्रनिनिधिले मैदानको दुबो, माटोको सतह, फ्लड लाइट र सुरक्षाको विषयमा कमजोरी देखाउँदै नेपालमा खेल सञ्चालन गर्न नसक्ने जनाएको थियो ।
यसअघि दशरथ रंगशालालाई कमजोरी देखाउँदै एएफसीले नेपाल र बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलाएको थियो । चैत ८ गते भएको उक्त खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो । चैत १३ गते भएको दोस्रो खेलमा नेपाल बहराइनसँग पुनः ३-० गोलले पराजित भएको थियो ।
विश्वकपअन्तर्गत एसियाली छनोटमा समूह ‘एच’ मा रहेको नेपाल यसअघिका चार खेलमा लगातार पराजित हुँदै विश्वकप छनोटबाट बाहिरिसकेको छ । यस्तै, यसअघि नेपाल र यमनबीच यमनमा हुने तय भएको खेल पनि अब साउदी अरेबियामै हुने तय भएको छ ।




















