गाजामा चिकित्सा सहायता आपूर्तिमा लगाइएको नाकाबन्दी हटाउन अनुरोध गर्दछौं: डब्लुएचओ प्रमुख।

जेनेभा:= विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेयसले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गर्नुभएको छ । उहाँले गाजाको युद्ध क्षेत्रमा करिब सात सयजना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो ।

इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमाक्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपत्कालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइनसमेत काटिएको डब्ल्युएचओका महानिर्देशक घेब्रेयसले जेनेभामा पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

गाजामा कहालीलाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको टेड्रोसले उल्लेख गर्नुभयो ।

उत्तरी गाजामा दुईवटा मात्र अस्पतालहरूले सेवा प्रवाह गरिरहेको तर उक्त सेवा अपुग देखिएकाले स्वास्थ्य सेवाहरू प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने डब्लुएचओ प्रमुख घेब्रेयसले बताउनुभयो। उहाँले राष्ट्रसंघीयको स्वास्थ्य निकायले गाजामा थप सहायता प्रवाह नगरी अस्पताल र जनसंख्यालाई जीवन बचाउने सहयोग कायम राख्न नसकेकोमा पनि दुःख व्यक्त गर्नुभयो ।

डब्ल्युएचओ र यसका साझेदारहरूले पछिल्लो समयमा अस्पतालमा थोरै मात्रामा इन्धन पु¥याउन सफल भएका छन् । गाजामा स्वास्थ्य सेवा सञ्चालनका लागि ठूलो मात्रामा इन्धनको आवश्यकता रहेको तर प्रत्येक दिन आवश्यक पर्ने इन्धनभन्दा निकैै कममात्र आपूर्ति हुने गरेको उहाँले बताउनुभयो । रासस/सिन्हृवा ।