भारतीय फुटबल टोलीका कप्तान क्षेत्रीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।

नयाँदिल्ली:= भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नुहुनेछ ।

सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनिलले सन्न्यासबारे जानकारी दिनुभएको हो । ४० वर्षका सुनिल क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गर्नुभएको थियो । क्षेत्रीले पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गर्नुभएको थियो ।

क्षेत्रीले १५० खेलमा ९४ गोल गर्नुभएको छ । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्रीले सर्वाधिक गोल गर्नुभएको हो । क्षेत्री भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुनुहुन्छ ।

बुबा खड्गबहादुर क्षेत्री र आमा सुशीला क्षेत्रीका दुई सन्तानमध्येका जेठो छोरा हुनुहुन्छ सुनिल । सन् २००५ मा पाकिस्तानविरुद्ध भारतीय सिनियर टिमबाट ‘डेब्यु’ गरेयता सुनिलको फुटबल करियरले पछाडि हेर्नुपरेन । एजेन्सी