मैले संसद्मा बोल्ने सुनिश्चित् नभएसम्म अरु विकल्पमा छलफल नै हुँदैन: गृहमन्त्री रवि लामिछाने।

काठमाडौं := उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेका विषय र कांग्रेसले उठाएको विषयमा संसद्मा बोल्ने सुनिश्चित् नभएसम्म अरु विकल्पमा छलफल नगर्ने अडान राख्नुभएको छ । आफूले सदनमा एक पटक बोल्न पाए त्यसपछि मात्र संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने उहाँले बताउनु भयो ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सिंहदरबारको भेटवार्ता सकेर बाहिरिने क्रममा सिंहदरबारमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा गृहमन्त्री लामिछानेले यस्तो बताउनु भएको हो ।

नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको थियो ।

भोलि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । संसदको गतिरोध अन्त्य सरकारको भूमिकामा निर्भर हुने कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।

आज दिउँसो सभामुख देवराज घिमिरेले शेरबहादुर देउवा र रवि लामिछानेलाई फोन गरेर राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्नुभएको थियो ।