दशरथ रंगशाला मैदानको हरिबिजोगको कारण युएई र नेपालबीचको खेल नहुने।

काठमाडौं:= फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत युएईसँगको खेल दशरथ रंगशालामा नहुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाउँदै घरेलु मैदानमा खेल नहुने जानकारी दिएको एन्फा स्रोतले जनाएको छ ।

समूह ‘बी’ मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ । एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालामा निरीक्षण गरेका थिए । त्यतिबेला उनीहरूले मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखेका थिए ।

यसअघि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइनविरुद्ध दशरथ रंगशालमा हुनुपर्ने होम म्याच पनि नेपालले गुमाएको थियो । उक्त खेल नेपालले बहराइनमै गएर उसैको मैदानमा खेलेको थियो । रंगशाला एएफसीको मापदण्डअनुसार नभएपछि एएफसीले न्युट्रल भेन्यु खोज्न एन्फालाई भनेको छ ।