सरकारी अड्डाहरु गएर केलाए हुन्छ,लामिछानेका विरुद्ध सहकारी ठगीको यथेष्ट प्रमाण छन् : गगन थापा।

काठमाडौं:= प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैँसँग रहेको दाबी गर्नुभएको छ ।शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उहाँले सञ्चारकर्मीमाझ उपप्रधानमन्त्री लामिछानेले सहकारीमा गरेको गठीको यथेष्ट तथ्य र प्रमाणहरु सरकारी अड्डाहरुसँगै रहेको बताउनुभएको हो ।

जिबी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएकोमा कुनैपनि दुविधा नभएको भन्दै महामन्त्री थापाले तथ्य, प्रमाण खोज्न रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरु, सिआईबीले गरेको अनुसन्धान, पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पती शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई बुझाएको हस्ताक्षर, ल्याप्चेलगायतको यसको परीक्षण नै पर्याप्त हुने दोहोर्‍याउनु भयो ।

उहाँले सहकारी ठगी प्रकरणको विषयलाई खेलाँची नगरी गम्भिरतापूर्वक लिन र वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सरकारलाई सचेत गराउनु भयो । महामन्त्री थापाले भन्नुभयो, ‘यो सरकार र प्रतिपक्ष बीचको यो संसदीय समिति बनाउने कि नबनाउने भन्ने एउटा हाम्रो माग, सरकारको पेलाई एउटा संघर्ष चलिरहेको छ । तर यो बीचमा हाम्रो तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको के विषयमा ध्यानाकर्षण गराउन चाहन्छु भने यो हामीले सहकारी भनेका छौं ।

करोडौंको ठगी भनेका छौं । तर के कुरा हामी बिर्सिरहेका छौँ भने पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारी वा साना पाईला, समानता वा सुप्रिम वा इमेज सहकारीहरु मात्रै हामीले हेर्‍यौँ भने प्रत्येक दिन संसद भित्र भइरहेको छलफल वा सरकारका मानिसहरुले राखिरहेका कुराहरुको सन्दर्भमा उनीहरु के कुरा कुरेर बसिरहेका छन भने हाम्रो वचत फिर्ता हुन्छ कि हुँदैन भनेर बसिरहेका छन् । यो मलाई नै अहिले दिनमा सहकारीको विषय उठाईरहेका हुनाले पहिला देखिनै आउने र भेट्ने त गर्नुहुन्थ्यो ।

तर अहिले कम्तिमा पनि १२/१५ जना नचिनेको बचतकर्ताहरुले कहिन कहीँबाट सम्पर्क गर्नुहुन्छ, कोशिस गर्नुहुन्छ विभिन्न माध्यमहरुबाट । र उहाँहरुलाई अरु कुनैपनि कुराको सरोकार छैन । एक लाख, २ लाख, ५ लाख, १० लाख वचत छ । कि तुरुन्त वचत फिर्ता हुने अवस्था भएन भने परिवार, परिवार बीचमा अप्रिय घटना हुने अवस्थाहरु बन्ने अवस्था हामीले देखिरहेका छौं । र कुनैपनि बेला यो धैर्यताको बाँध फुट्नसक्छ ।

त्यसैले मैले प्रधानमन्त्रीजीलाई अनुरोध पनि गराएको, सचेत र सजग पनि गराएको सहकारीको रकम लगेर अपचलन गरेको विषयहरुको सन्दर्भमा सरकारको खास गरेर प्रधानमन्त्रीले तत्काल गम्भिर भएर बचत फिर्ता गराउने काम प्रारम्भ गराउनुभएन भने वा त्यो शुरु भयो भन्ने कुराको उहाँहरु आश्वस्त बन्ने आधार तय भएन भने थुप्रै अप्रिय घटनाहरु हाम्रो समाजमा भएको हामीले देख्ने अवस्था आउँछ ।

यो यी विषयहरुको बारेमा एकदमै गम्भिर बन्न प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु । दोस्रो विषय जिबी राईसँग मिलेर माननीय रवि लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएको भन्ने हाम्रो दाबी छ । यसमा हामीलाई कुनैपनि दुविधा छैन । तथ्य, प्रमाणका कुराहरु निस्किएका छन् । तथ्य, प्रमाण खोज्न पनि कहीँ पनि जानुपर्र्दैन । कसैले पेश पनि गर्नुपर्दैन । रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरु, सिआईवीले गरेको अनुसन्धान, जसमा लुकाइएको थियो ।

तर अहिले जुन बाहिर सार्वजनिक भएको छ । पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पती शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई रवि लामिछानेले गर्नुभएको हस्ताक्षर ल्याप्चे लगायतको यसको परीक्षण गर्नका लागि गरेको अनुरोध, त्यहाँ भित्र रवि लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजहरु, पत्रहरु, यति धेरै तथ्य र प्रमाणहरु छन कि तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन । सरकारी अड्डाहरुमै गएर तथ्य र प्रमाण केलाए हुन्छ । त्यसैले नेपाली काँग्रेस पार्टीको तर्फबाट के आग्रह छ भने अब यो चटके कुराहरु गर्न छाडिदिएर यसलाई खेलाचीको विषय बनाएर होइन । हामी गम्भिरतापूर्वक भनिरहेका छौं ।

संसदीय समिति भित्र यिनै तथ्य प्रमाणहरुको आधारमा रवि लामिछाने जिवी राईसँग मिलेर सहकारी ठगीमा संलग्न हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित हुन्छ । कुनै नयाँ कुरा चाहिँदैन । कहीँ कसैले केही ल्याउनै पर्दैन ।’ महामन्त्री थापाले सरकारले सहकारी वचतकर्ताहरुको रकम फिर्ता गराउने काममा सरकार गम्भिर नभए समाजमा अप्रिय घटना हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।