एसिसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी।

Kushal Bhurtel of Nepal and Mahamad Asif Sheikh of Nepal run between the wickets during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

ओमान:= ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी बनेको छ । मलेसियाले दिएको एक सय ४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर २ विकेट हात पारे ।

कप्तान रोहित पौडेल २४ बलमा १ छक्कासहित २८ रनमा आउट भए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल २४ बलमा ३ चौकासहित २४ रनमा एलबीडब्लू आउट भए ।

आसिफ शेख ३५ बलमा ४ चौकासहित ३२ र कुशल मल्ल ७ रनमा आउट भएका थिए । कप्तान रोहित आउट भएपछि नेपालको ब्याटिङ धर्माराएको थियो । त्यसलाई सम्हाल्दै गुल्शन झाले साहसिक फिनिसिङ गर्दै नेपाललाई जित दिलाए । गुल्सनले ७ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै १९ रनमा अविजित रहे ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४३ रनको योगफल बनाएको थियो ।

मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने । यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए । प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।