मानिस निदाएकै बेलामा कसरी हुन्छ अच्चानक रहस्यमय मृत्यु ?

एजेन्सी := सन् १९८४ मा वेस क्रेभनले सबैभन्दा डरलाग्दो चलचित्र ‘अ नाइटमेयर अन एल्म स्ट्रिट’ विश्वसामु पस्किए। किशोरलाई उनीहरू निदाएका बेला हत्या गर्ने नरपिशाचको चरित्रमा फ्रेडी क्रुएगरको नृशंश, भयानक छवि सर्वत्र चर्चाको विषय बन्यो। ‘एलए टाइम्स’ प्रकाशित एउटा लेखको विषयवस्तुबाट प्रभावित भएर क्राभेनलाई ऐतिहासिक भुताहा चलचित्र बनाउने प्रेरणा मिलेको थियो।

कम्बोडियाली नरसंहारबाट बचेका एक शरणार्थी बालकको कथामा आधारित रहेर उनले चलचित्र बनाएका थिए। ती बालकमा कस्तो डर बसेको थियो भने, ‘सुतेका बेला आफूमाथि आक्रमण हुने छ र आफूले भोलिको बिहानी देख्न पाउने छैन।’ क्राभेनले भल्चरलाई भने, अन्ततः जब उनी निदाउँथे उनका मातापिताले यो सङ्कट सकियो ठान्दथे। त्यसपछि उनीहरू मध्यरातमा चिच्याएको आवाज सुन्दथे। जबसम्म उनीहरू उनको नजिक पुग्थे, उनको मृत्यु भइसकेको हुन्थ्यो। एक दुःस्वप्नबीच उनको मृत्यु भइसक्थ्यो।

क्राभेनले व्याख्या गरेको कथा कुनै पृथक घटना होइन, अमेरिकामा दक्षिणपूर्वी एसियाली क्षेत्रका सयौँ शरणार्थी सन् १९८० को दशकमा अज्ञात कारणले निदाएकै बेला मरेका थिए। उनीहरूको मृत्यु रहस्यमय थियो। यसरी रहस्यमय मृत्युको सिकार हुनेहरू प्रायः हमोङ जातीय समूहका २० देखि ४० वर्षसम्मका पुरुष थिए। यस जनसङ्ख्याको ठूलो भाग प्रभावित हुँदा जनस्वास्थ्य विशेषज्ञहरूको ध्यान आकर्षित नहुने कुरै भएन।

रहस्यमय बिरामीले पीडित हुनेहरू विशेष गरी दक्षिणपूर्वी एसियाको भूपरिवेष्ठित राष्ट्र लाओसका शरणार्थी थिए। भियतनाम युद्धका बेला उत्तर भियतनामी सैनिकविरुद्ध लड्नका लागि सिआइएद्वारा भर्ती गरिएकै कारण लाओसमा हमोङ अल्पसङ्ख्यक समूहमाथि अत्याचार हुन थालेको थियो । आफूहरूको बसोबास रहेको उत्तरी पर्वतीय क्षेत्रमा वामपन्थीविरुद्धको लडाइँमा अमेरिकालाई ३० हजारभन्दा बढी हमोङ सैनिकले सहयोग गरेका थिए। त्यस लडाइँमा अमेरिकी सैनिकहरूको दाँजोमा हमोङ सैनिक १० गुणा बढी मरे।

सन् १९७५ मा भियतनाम युद्ध सकियो र लाओस एक वामपन्थी देश भयो। अमेरिकासँग मिलेर काम गरेका कारणले हमोङलाई त्यहाँको नयाँ नेतृत्वले देशद्रोहीका रूपमा हेर्न थाल्यो। युद्धमा बाँचेका धेरै मानिसले युद्ध सकिएपछि थाइल्यान्ड वा अमेरिकामा शरणार्थी हुन घरबार छाडे।

युसी बर्कलेका सहप्राध्यापक तथा ‘साउथइस्ट एसियन माइग्रेसन स् पिपल अन द मुभ इन सर्च अफ वर्क, रिफ्युज, एन्ड बिलङ्गिङ’ का लेखक डा। खथरेन उम भन्छिन्, ‘निकै कठिन परिस्थितिमा बाध्यात्मक प्रवासन थियो। यो धेरै लामो यात्रा थियो र एक अत्यन्त जोखिमयुक्त यात्रा।’ यस समूहको समस्या पुनर्बाससँगै समाप्त भएन, आफूहरू घरमा रहँदाको आफ्ना अनुभवको सम्झनाले उनीहरूलाई प्रायः आघात पुग्दथ्यो।

अमेरिकामा बसाइँ सरेका हमोङ शरणार्थीमा गरिबीको दर उच्च त थियो नै चाँडै उनीहरूमा रहस्यमय रोगले थला पर्न थाले। ‘अ नाइटमेयर अन एल्म स्ट्रिट’ मा फ्रेडी क्रुएगरको निशाना धेरैजसो किशोर र युवामा थियो। सन् १९७० को अन्त्यतिर र सन् १९८० को आरम्भिक वर्षमा ‘एलए टाइम्स’ पत्रिकामा ‘मिस्टिरिअस फेटल मेलडी स्ट्राइकिङ हमोङ मेन’ र ‘नाइट डेथ्स अफ एसियन मेन अनएक्सप्लेन्ड’ जस्ता शीर्षकमा सामग्री प्रकाशित हुन थाले। तीमध्ये कुनै एक समाचार सामग्रीले वेस क्राभेनलाई चलचित्र बनाउन विषयवस्तुको कल्पनाको सागरमा डुबायो।

थाइल्यान्डको शरणार्थी शिविरबाट ल्याएर अमेरिकामा सपरिवार बसोबास गराइएको लाओसीको परिवारका एक सदस्यले बेहोरेको समस्यालाई सन् १९८१ मा प्रकाशित एउटा लेखमा उल्लेख गरिएको थियो। नयाँ देशमा बसोबास गर्न थालेको केही समयमै ४७ वर्षीय योङ लेङ थाओ निदाएकै बेला मरेछन्। लेखमा घटनाको दृश्यको बयान गर्दै भनिएको थियो, मृतकसँगै उनकी श्रीमती थिइन्, आँखाबाट आँसु झार्दै गरेकी। निदाएकै अवस्थामा मर्ने उनी नौ महिनामा चौथो तथा सन् १९७८ यता राति सुतेका बेला ज्यान गुमाउने १३ औँ हमोङ थिए।

अनुसन्धानकर्ताले मृत्युको कुनै चिकित्सकीय कारण पत्ता लगाउन सकेनन् तर त्यस समाजका धेरै सदस्यको के मान्यता थियो भने भियतनाम युद्धका बेला शरणार्थी सैनिकहरू स्नायुलाई असर पार्ने जुन ‘नर्भ ग्यास’ बाट प्रभावित भएका थिए त्यसैले गर्दा हमोङ मरिरहेका छन् तर यस मान्यतालाई चिकित्सकहरूले स्वीकारेनन्।

यस बारेमा डा. लारी भी लम्यानले एलए टाइम्समा लेखेको लेखमा भनेका छन्, ‘नर्भ ग्यासले यसरी काम गर्दैन। यसको प्रमाण छैन। दोस्रो कुरा यदि यो नर्भ ग्यास हो भने यसले पुरुषलाई मात्र किन प्रभाव पार्यो र राति मात्रै किन प्रभाव पयो ?’ अन्य हमोङले के विश्वास पालेर बसे भने, ‘आफ्नो मातृभूमि छाडेर आएका हुनाले आफ्ना पुर्खाको आत्माले हामीहरूलाई सजाय दिँदै छ।’

यसरी हमोङ पुरुषहरू राति सुतेका बेला मर्ने रोगलाई पछि चिकित्सा विज्ञानले ‘सडेन अनएक्सप्लेन्ड नक्टर्नल डेथ सिन्ड्रोम’  नाम दियो। अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल’ ले यस समस्याका बारेमा अनुसन्धान नै गरेको थियो तर दक्षिणपूर्वी एसियाली, विशेष गरेर हमोङ समूहमा ‘सडेन अनएक्सप्लेन्ड नक्टर्नल डेथ सिन्ड्रोम’ ले हुने मृत्यु अझै पनि रहस्यको घेरामै छ।हमोङहरूमा वर्षौंदेखिको जुन तनाव थियो त्यसलाई डा। उमले एक प्रमुख कारण बताएकी छन्। – युवामञ्च