धोनीले जित्यो “स्ट्राइकर अफ द म्याच”को अवार्ड, ३०० क्याच लिने विश्वकै पहिलो विकेट किपर।

एजेन्सी (नयाँदिल्ली):= भारतीय दिग्गज क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीले स्ट्राइकर अफ द म्याचको अवार्ड जित्नुभएको छ । आइपिएलमा सबैभन्दा बढी स्ट्राइक रेटका साथ रन बनाउने खेलाडीलाई यो अवार्ड दिइन्छ, जसले कम्तीमा १० बल खेलेको हुनुपर्छ ।

आइतबार राती सम्पन्न खेलमा धोनीले यस खेलमा १६ बलको सामना गर्दै २३१.२५ को स्ट्राइक रेटमा ३७ रन बनाउनुभएको थियो । यस क्रममा धोनीले चार चौका र तीन छक्का प्रहार गर्नुभयो ।

यस इनिङ्समा धोनीले विकेट किपर ब्याट्सम्यानका रूपमा टी-२० क्रिकेटमा सात हजार रन पूरा गर्नुभयो । धोनी टी-२० मा विकेट किपरका रूपमा सात हजार रन बनाउने तेस्रो खेलाडी बन्नुभएको छ ।

यसअघि यो उपलब्धि क्विन्टन डी कक र जोस बटलरले मात्र गर्नुभएको थियो । यस्तो अवस्थामा धोनी टी–२० क्रिकेटमा सात हजार रन पूरा गर्ने एसियाकै पहिलो विकेट किपर ब्याट्सम्यान बन्नुभएको छ ।

यस्तै, सिंह धोनी टी-२० ढाँचामा ३०० क्याच (विकेट) लिने विश्वकै पहिलो विकेट किपर बन्नुभएको छ । उहाँ ४२ वर्षको उमेरमा पनि विश्वकै चर्चित लिग आइपिएल खेलिरहनुभएको छ र उहाँको जोश यथावत् छ । धोनीको उत्कृष्ट ब्याटिङका बाबजुद उहाँ आबद्ध चेन्नई सुपर किंग्स पराजित भयो ।

पहिले ब्याटिङ गरेको दिल्लीले चेन्नई सुपर किंग्सलाई १९२ रनको लक्ष्य दिएको थियो । जवाफमा सिएसकेले १७१ रनमात्र बनाउन सक्यो । यो सिजनमा चेन्नई सुपर किंग्सको पहिलो हार हो । यो जितसँगै दिल्ली क्यापिटल्सले चालु सिजनमा आफ्नो जितको खाता खोलेको छ । एजेन्सी