नेपाली चलचित्र ‘महाजात्रा’ ले नेपालसहित विश्वभर आक्रामक व्यापार गर्दै।

काठमाडौं := चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर आक्रामक व्यापार गरिरहेको छ । पहिलो सातामा नेपालमा ६ करोड २४ लाखको ग्रस कलेक्शनसहित विश्वभर दश करोडको ग्रस कलेक्सन गरेको चलचित्र हेर्न दोस्रो सातामा पनि दर्शकको भिड कम भएको छैन ।

नेपाल झैँ विदेशमा पनि दर्शकको उस्तै प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा चलचित्रले व्यावसायिक रूपमा पनि इतिहास बनाउँदैछ । अष्ट्रेलिया, अमेरिका झैँ चलचित्रले मध्यपूर्वका देशमा पनि आक्रामक व्यापार गरिरहेको निर्माणपक्षले जनाएको छ ।

यहीचैत १५ (मार्च २८) देखि मलेसिया, दुबई, बहराइन, ओमान र कतारमा चलचित्र प्रदर्शनरत छ । मध्यपूर्वका देशहरूमा वितरणको अधिकार खरिद गरेको सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन र प्रदर्शन गरिरहेको कन्सेप्ट भिजनका प्रमुख अनिश सिंह ठकुरीले अघिल्ला सबै रेकर्ड तोड्दै ‘महाजात्रा’ ले नयाँ इतिहास बनाउने बताउनुभयो ।

मध्यपूर्वका ठूला सिनेमा चेनहरू भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा चलचित्र विदेशी झैँ नियमित प्रदर्शन भइरहेको बताउनुभयो । साथीभाई इन्टरटेनमेन्ट्सका हरि मोक्तानको बजार व्यवस्थापन र हर्क पोडकास्टको सहयोगमा नेपाली चलचित्रको बजारलाई मध्यपूर्वका देशहरूमा थप बलियो बनाइरहेको वितरक ठकुरीले बताउनुभयो ।

उहाँले हालसम्म मध्यपूर्वमा पाँच हजार र मलेसियामा पन्ध्रसय दर्शकले चलचित्र हेरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार सुरुवाती चरणमा भएको शो र त्यसमा दर्शकले दिनुभएको प्रतिक्रियाले आगामी दिनमा भव्य व्यापार हुने तय छ ।

उहाँका अनुसार मलेसियामा अप्रिल ५ देखि नियमित प्रदर्शन तथा साउदी अरेबिया र कुवेतमा भने अप्रिल १८ सम्ममा प्रदर्शन हुनेछ । चलचित्रको भारतबाहेकको प्रदर्शन अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्ट्सले मध्यपूर्व झैं अष्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्याण्ड, क्यानडा, जापान लगायतका देशमा आयोजित अधिकाँस शो ‘सोल्ड आउट’ भएको जनाएको छ ।

साथै, संयुक्तराज्य अमेरिका र बेलायतमा मध्यपूर्व झैँ नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ ।

आपतकालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल चलचित्रको निर्माता हुनुहुन्छ ।