काठमाडौं := नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी विवादका कारण आफूमा तनाव उत्पन्न भएको बताउनु भएको छ। पार्टीको बैठकमा भएको कुटाकुटबारे सोमबार पत्रकारहरूसँग कुरा गर्दै संरक्षक चौधरीले यस्तो गुनासाे पाेख्नुभएकाे हो।
चौधरीले तीन महिनादेखि आफूले खाना नखाएको बताउँदै उहाँले आफूलाई आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसकेको गुनासो गर्नुभयो । केन्द्रीय समितिको निर्णयसमेत नेताहरुले नमानेर पदलोलुप्ता देखाएको उहाँले बताउनु भयो ।
आगामी २३ र २४ गते बस्ने पार्टीको बैठकले गलत गर्नेलाई कारबाही गरेर पार्टीले शुद्धिकरण गरिने समेत उहाँले बताउनु भयो । ‘अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ । सम्झौता भयो भने पार्टी मिलाउने हो, नत्र छानिछानी कारबाही गर्ने जसले गल्ती गर्यो उ कारबाहीमा पर्यो ।’ उहाँले भन्नभयो ।
अहिलेको सरकारले आफ्नो पार्टीमाथि हस्तक्षेप गरेको उहाँले आरोप थियाे । अहिलेको सरकारले आफ्नो पार्टी चलाइरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो , ‘अर्काको इशारामा किन चल्ने ? केन्द्रीय समितिबाट निर्णय गरेर जाऊँ भनेको हो । २३ र २४ गतेसम्म यथास्थितिमा चल्छ । त्यसपछि केन्द्रीय समितिले गरेको निर्णय स्वीकार गर्छौँ ।’
नाउपाका संरक्षक चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको विवादका कारण नेताहरु बीच सोमबार कुटपिट समेत भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा शुरू भएको विवाद कुटाकुटको अवस्थामा पुगेको हो ।
अध्यक्ष रञ्जिता पक्षका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पत्रकार सम्मेलन गरेरै रेशम चौधरीले आफूहरूमाथि भौतिक आक्रमण र ज्यान मार्नेसम्मको धम्की दिएको बताउनु भएको थियो । विश्वकर्माले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रेशम चौधरीका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको आरोप लगाउनु भयो ।
विश्वकर्माले आफूहरूमाथि आक्रमणको खतरा रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको थियो ।




















