क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत सोलुखुम्बु जिल्ला दुधकुन्डा नगरपालिका १० निवासी एक नेपाली सुरक्षागार्ड आफ्नो रोजगारदाता कम्पनीद्वारा सम्मानित भएका छ्न ।
मलेसियाको दामानसारामा अवस्थित एक सपिङ मलमा कार्यरत नेपाली सुरक्षागार्ड दावा शेर्पाले आरएम (RM) ५००,००० नगद मलेसियन रिंगेट भएको झोला इमानदारीसाथ फिर्ता गरे बापत्त उनको इमानदारीताको उच्च कदर गर्दै सुरक्षा गार्ड दावा शेर्पालाई रोजगारदाता सुरक्षागार्ड कम्पनीद्वारा प्रशँसा पत्रसंगै उपहार र अवार्डसहित सम्मानित गरिएको हो ।
३९ वर्षीया शेर्पा बिगत ४ बर्षदेखि ए-फाइभ सेक्युरिटी सर्भिसेज कम्पनीमा आबद्ध रहि काम गर्दै आएका थिए । सुरक्षागार्ड कम्पनीका निर्देशक हरदीप सिंहले “परिस्थितिलाई सम्हाल्ने तरिका र प्रक्रिया अपनाएकोमा दावाप्रति आफुले गर्व गरेको बताए। “हामी उनको इमानदारीको धेरै प्रशंसा गर्छौं। (झोलामा रहेको पैसा) ठूलो रकम थियो र उसले गरेको कामको लागि हामी कृतज्ञ छौं, त्यसैले आज हामी उहाँलाई पुरस्कृत गर्दैछौं, ”हरदीपले एक पत्रकार सम्मेलनमा भने।
दावाले दमनसराको सपिङ मलमा ड्युटीमा रहेको बेला पैसाले भरिएको झोला फेला परेपछि आफूले लिएको तालिम र तालिममा सिकेको कुरो याद आएको सम्झिदै । “मलाई ठ्याक्कै थाहा थियो के गर्ने। मैले झोलामा कति छ भनेर पनि सोचिन, मैले मेरो ड्युटीको काम पूरा गरें,” उनले भने।
पछि शेर्पाले आफ्नो मल व्यवस्थापन र अधिकारीहरूलाई पैसा भेटाएको बारे रिपोर्ट गरे। निर्देशक हरदीपले दावालाई कम्पनीको उत्कृष्ट सुरक्षा गार्डको रूपमा प्रशंसा गरे। उनले दावा आगामी वर्षसम्म साथमा रहने विश्वास व्यक्त गरे । “मलाई आशा छ कि हामीले उसको यहाँ बस्न मिल्ने अनुमतिपत्र भिसा विस्तार गरेर थप गर्न सक्छौं, हामीलाई उहाँ जस्ता इमानदार मानिसहरू चाहिन्छ।”
त्यस्तै सेलाङ्गर राज्यका प्रहरी प्रमुख हुसेन ओमर खानले प्रहरीले सुरक्षा गार्डबाट बिहान ०८:०० बजे सपिङ मलको कार पार्कमा सुटकेस फेला पारेको रिपोर्ट प्राप्त गरेको बताए। उनले यति ठूलो रकम गुमाउने जो कोहीले पनि मेरो पैसा हो भनी दाबी गर्नको लागि पेटालिंगजाया प्रहरी चौकीमा आउनु पर्ने बताए । यदि कसैले सो रकम दाबी गरेन भने, कारबाहीका लागि अदालतमा बुझाइनेछ प्रहरी प्रमुखले भने ।