आईपीएलको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किंग्सले नै जित्यो।

चेन्नई:= इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको छ । गएराति चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ६ विकेटले पराजित गरेको हो।

बैंग्लुरुले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य चेन्नईले मात्र ४ विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो । चेन्नईको जीतमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए। उनले १५ बलमा ३ चौका र ३ छक्का हिर्काए । त्यस्तै अजिंका रहानेले २७ रन तथा डेरल मिचेलले २२ रनको योगदान दिए।

dayrl mitchell

शिवम दुवेले नटआउट रहँदै २८ बलमा ३४ रन तथा रवीन्द्र जडेजाले १७ बलमा २५ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । बैंग्लुरुका लागि क्यामरुन ग्रिनले २ तथा यश दयाल र करन शर्माले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । टोलीका लागि अनुज रावतले सर्वाधिक ४८ रन बनाए । उनले मात्र २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, दिनेश कार्तिकले २६ बलमा ३८ रन तथा कप्तान फाफ डु प्लेसिसले २३ बलमा ३५ रन हिर्काए । विराट कोहलीले २१ रन तथा ग्रिनले १८ रनको योगदान दिए ।बैंग्लुरुको इनिङ्स ध्वस्त बनाउन मुस्तफिजुर रहमानले ४ ओभरमा २९ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै दीपक चाहरले १ विकेट हात पारे ।