काठमाडौं:= पहिलोपटक नेपालले लोकतान्त्रिक राज्य प्रणालीको सूर्योदय देखेको दिन आज । ००७ देखि अहिलेसम्म वर्षका हिसाबले ७३ वर्ष पूरा भएको छ । आज (सोमबार) ७४औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ ।
जनक्रान्तिका माध्यमबाट १०४ वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ ।
यस अवसरमा आज देशभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ यो दिवस मनाइँदै छ । आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै छ । आज नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिनेछ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिनेछ ।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले शुभकामना सन्देश जारी गर्नुभएको छ ।
यत्रो लामो अवधिमा अझै लोकतन्त्रको सूर्योदयमाथि गम्भीर विवादहरू भइरहेका छन् । लोकतन्त्रको मर्म र भावनामाथि कसै न कसैबाट निरर्थक प्रहार गर्दै निरन्तर फैलाइने गरेको उत्तेजनात्मक बितण्डाका कारण लोकतन्त्र शब्दमा संकुचित भएको छ ।
लोकतन्त्रको स्थापना, पुनःस्थापना र पूर्ण स्थापनामा धेरै नेपालीहरूको ज्यान गएको छ, धेरैको श्रम गएको छ, धेरैको यौवन गएको छ र धेरैको श्रीसम्पत्ति र परिवार गुमेको छ । तर, लोकतान्त्रिक प्रणालीलाई निजी बिर्ता र पैतृक सम्पत्ति जस्तो गरी नेतृत्वमा पुग्नेहरूबाट उपयोग हुने गरेको हुनाले यसको मर्म क्षतविक्षत भएको छ । रस निचोरेको उखुको खोस्टा जस्तो हालतमा नेपालको लोकतन्त्र आज पनि सडकमा सुतिरहेको छ ।
लोकतन्त्रले मानव अधिकारका विश्वव्यापी सिद्धान्तहरूका आधारमा मौलिक हकहरूको सुरक्षा गर्दै देशवासी सम्पूर्ण नागरिकलाई न्याय प्रदान गर्छ, राज्यका सबै अवयवहरूबाट न्याय मिल्छ भन्ने विश्वास पैदा गर्छ, राष्ट्रको स्वाभिमान र गौरवको रक्षा गर्नसक्छ भन्ने आधार प्रदान गर्छ ।
सम्पूर्ण नागरिकलाई अविभाज्य रूपमा स्वतन्त्र, सार्वभौम सर्वोच्च बनाउँछ । भूगोल र नागरिकलाई एकअर्काको रक्षा र विकास गर्ने पूरक सहयोगी बनाउँछ लोकतन्त्रले । तर, के यो ७३ वर्षमा त्यस्तो कुनै विश्वास सिर्जना हुनसक्यो रु जनजनको प्रश्न छ ।