काठमाडौं := आज शुक्रबारबाट फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिजको परम्परा धान्दै यी दुवै फिल्म देशभर एक अर्काेसँग व्यावसायिक प्रतिस्पर्धामा उत्रिएको हो । करिब एक महिनापछि हलमा नयाँ नेपाली फिल्म आएको हो। दुवै फिल्ममा अहिलेका व्यस्त अभिनेता दयाहाङ राईको अभिनय रहेको छ ।
‘दया रानी’लाई माओत्से गुरुङले निर्देशन गर्नुभएको हो भने ‘हात्तीछाप’मा सिमोस सुनुवारको निर्देशन छ । दुवै चलचित्रको अभिनेतामा दयाहाङ राई हुनुहुन्छ । उहाँका दुई चलचित्र एक साथ प्रदर्शनमा आएका हुन् । अभिनेता राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘बिहे पास’ एक साथ प्रदर्शनमा आएका थिए ।
यद्यपि दुवै चलचित्र फरक स्वादका रहेको अभिनेता राईको भनाइ छ । उहाँले भन्नुभयो, ‘दुवै चलचित्र फरक स्वादका छन् । यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ । सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ, दुवै चलचित्रमा फरक विषय र परिवेशलाई प्रस्तुत गरिएको छ, एउटा विशुद्ध पारिवारिक कथामा छ भने अर्कोमा समसामयिक विषयवस्तु छ, दर्शकलाई दुवै चलचित्रले निराश बनाउँदैन ।’
बाँसुरी फिल्मस् र माओत्से गुरुङ फिल्मस्को संयुक्त निर्माण रहेको ‘दया रानी’मा दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, क्रिष्टि गुरुङ, राजेन्द्र थापा, टीकाराम घले, सीतादेवी गुरुङलगायतथका कलाकारको अभिनय छ । शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको यो चलचित्रको कार्यकारी निर्मातामा रामबाबु गुरुङ र अपिल विष्ट हुनुहुन्छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको ‘दया रानी’ नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको छ । यस्तै, किरण नेपालीको प्रस्तुति रहेको चलचित्र ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोलालगायतको अभिनय छ भने अभिनेता दीपकराज गिरी केमियो भूमिकामा हुनुहुन्छ ।
चलचित्रमा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, उज्ज्वल सागर र आशिषको संगीत, हर्क साउदको शब्द रचना तथा रामजी लामिछानेको कोरियोग्राफी छ । आरआर फिल्मस्ले वितरण गरेको यो चलचित्रको निर्मातामा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ हुनुहुन्छ भने कार्यकारी निर्मातामा सरोज नेपाली रहनुभएको छ । यो चलचित्रको मंगलबार प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयले तारिफ पाएको थियो ।




















