काठमाडौं:= अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो ।
अब अस्ट्रेलियाले फाइनलमा उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ । भारतले यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा नेपालसहित १६ राष्ट्रले सहभागिता जनाएको थियो । नेपाली टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणसम्म पुगेको थियो । समूहगत चरणको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।
समग्रमा यू–१९ विश्वकपमा नेपाली टोली ११औँ भएको छ । जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड, नामिबिया र अमेरिका क्रमशः १२औँदेखि १६औँ स्थानमा रहे । प्रतियोगिताको फाइनलमा विजयी हुने टोली पहिलो र पराजित हुने टोली दोस्रो हुनेछन् ।
पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र वेस्ट इन्डिज पाँचौँ भए । इङ्ल्यान्ड, बंगलादेश, श्रीलंका, आयरल्यान्ड र न्युजिल्यान्ड क्रमशः छैटौँदेखि १०औँ स्थानमा रहे ।




















