पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई १४ वर्षको जेल सजाय।

एजेन्सी:= पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । मंगलबार मात्र खानलाई ‘साइफर’ मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो ।

बीबीसीका अनुसार बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन्। सन् २०२२ मा विपक्षी दलहरूले इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । उनी यसअघि नै भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि तीन वर्षको जेल सजाय काटिरहेका छन् ।

मंगलबार इमरान खानलाई राष्ट्रिय गुप्तचर सूचना चुहावट गरेको आरोपमा सजाय सुनाइएको थियो । यसैबीच आज उनलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । इमरान खानले आफूविरुद्धका अधिकांश मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएका छन् ।

इमरान खानलाई यो सजाय पाकिस्तानमा आम चुनाव हुनु केही साताअघि भएको हो। इमरान खानलाई यसअघि नै चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो ।इमरान खान गत वर्ष अगस्टमा पक्राउ परेदेखि जेलमा छन् ।

सुनुवाइका क्रममा उनकी श्रीमती बुशरा बिबीलाई हिरासतमा राखिएको थियो । दुवैले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार व्यक्तिगत फाइदाका लागि बेचेको आरोप छ ।