एजेन्सी मुम्बई:= विक्रान्त मैसीको मुख्य भूमिका रहेको ‘१२ वी फेल’ भारतीय फिल्म यति बेला चर्चामा छ। विधु विनोद चोपडाको निर्देशन रहेको यो फिल्म गत वर्ष अक्टोबर २३ मा प्रदर्शनमा आएको थियो ।
सत्य घटनामा आधारित यस फिल्मले हलमा दर्शक तान्न सकेको थिएन। यद्यपि ६६ करोड भारुको व्यापार गरेको थियो। तर, ओटीटी प्लेटफर्ममा भने फिल्म सुपर हिट बन्यो। डिसेम्बर २९ बाट अनलाइन प्लेटफर्ममा उपलब्ध यो फिल्मले ‘माउथ पब्लिसिटी’ एकदमै राम्रो पाएको छ ।
आईपीएस अफिसर बन्न मनोज नामको सामान्य परिवारको युवकले गरेको संघर्षमा आधारित यो फिल्म २० करोडको लगानीमा बनेको हो ।
यो फिल्मले आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाउँदै अन्य भारतीय फिल्महरूलाई पछि पारेको छ । १० मा ९ दशमलव २ रेटिङका साथ यो फिल्मले २५० उत्कृष्ट हिन्दी फिल्मलाईपछि पारेको छ ।




















