कठमाडौं:= नेपाली सर्ट भिडिओ सेयरिङ प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप अब आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताले एप स्टोरबाट डाउनलोड गरी चलाउन सकिने रमाइलो एपका सह-संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले बताउनुभयो ।
यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने गरेकामा अब भने आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको हो ।टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटो भिडिओ सेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप एन्ड्रोइड भर्सनमा करिब दुर्ई सातामै एक लाखभन्दा बढीपटक डाउनलोड भएको कम्पनीले जनाएको छ ।
रमाइलो एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता रहेको र पछिल्ला दिनमा निकै रूचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एपमा अहिले डार्क मोड, सर्ट्सलगायत अन्य फिचर थपिनुका साथै आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आइडी भेरिफाइड गर्ने जस्ता फिचर पनि रहेका छन् ।