एजेन्सी (साउदी अरेबिया) := पोर्चुगिज भेट्रान फरवार्ड चर्चित सुपरस्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक करियरको १२ सयौँ खेलमा गोल गर्दा साउदी प्रो लिगमा अल नासरले अल रियादलाई चार-एकले पराजित गरेको छ ।
३८ वर्षीय रोनाल्डोले साडियो मानेको क्रसमा पहिलो गोल गर्दा ओटाभियोको गोलका लागि असिस्ट पनि प्रदान गर्नुभएको थियो । रोनाल्डोले यो सिजनको साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गर्नुभएको छ । उहाँ लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा हुनुहुन्छ ।
रोनाल्डोले फेब्रुअरी २०२० मा सिरी ‘ए’ मा युभेन्ट्सका लागि गोल गर्दै आफ्नो एक हजारौँ खेल पूरा गर्नुभएको थियो । गत जुनमा आइसल्याण्डविरुद्ध खेल्दै उहाँले २०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष खेलाडी बन्दै १२८ गोलका साथ पुरुषतर्फ शीर्ष अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान बनाउनुभएको थियो ।
रोनाल्डो शीर्षस्तरमा ८०० गोल गर्ने इतिहासको पहिलो खेलाडीसमेत हुनुहुन्छ । यस्तै उहाँले सन् २०२१ मा म्यानचेस्टरबाट गोल गरेपछि ८५० गोलको आँकडा पार गर्नुभएको हो । साउदी प्रो लिगमा अल नासर तालिकाको दोस्रो स्थानमा छ, टोली शीर्षस्थानको अल हिलालसँग सात अंकले पछि छ ।




















