काठमाडौं := चलचित्र ‘परदेशी २’ले प्रदर्शनको ५१औं दिन मनाएको छ । नारायण रायमाझी निर्देशित चलचित्रले शनिबारबाट प्रदर्शनको ५१औं दिन पूरा गरेको हो । निर्माण युनिटले चलचित्रले ५१औं दिन पार गरेको उपलक्ष्यमा केक काट्टै खुशी साटासाट गरेको छ ।
कार्यक्रममा चलचित्रका कलाकार प्रकाश सपुत, केकी अधिकारी, निर्माता राजेश वंशल, निर्माता छविराज ओझालगायत सहभागी हुनुभएको थियो। दशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी र वर्षा सिवाकोटी मुख्य भूमिकामा हुनुहुन्छ ।
चलचित्रले काठमाडौंको अष्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज बानेश्वर र उपत्यका बाहिरको बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा ५१औं दिन मनाउन सफल भएको निर्माता राजेश वंशलले जानकारी दिनुभयो ।
मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन छ । चलचित्र नेपालको अलवा यूएई, कतार, इराक, ओमान, बहराइनलगायत मध्यपूर्वका देशमा प्रदर्शन भइरहेको छ ।
अमेरिकाको पनि विभिन्न शहरमा चलचित्रको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयं नै यतिबेला चलचित्र प्रदर्शनका लागि अमेरिका पुग्नुभएको छ । चलचित्र कोरिया, अष्ट्रेलिया, यूके, हङ्कङ, न्यूजिल्याण्ड, क्यानडासँगै भारतमा समेत प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलले जानकारी गराउनुभयो ।
नारायण रायमाझी र राजेश वंशलको यो तेस्रो सहकार्य हो । यसअघिका दुवैको सहकार्यमा बनेका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ले पनि ५१ दिन मनाएका थिए ।




















