काठमाडौं := चलचित्र ‘दयारानी’ माघ २६ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । दयाहाङ राई र दीया पुनको शीर्ष भूमिका रहेको यो चलचित्रका निर्माताले मंगलबार पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति सार्वजनिक गरेका हुन् ।
चलचित्रको कथावस्तु गुरुङ संस्कार र संस्कृतिमा आधारित छ । कास्कीको याङ्जाकोट गाउँ र पोखरामा ‘दयारानी’को छायांकन गरिएको छ । चलचित्रको निर्देशन अभिनेता माओत्से गुरुङले गर्नुभएको छ जुन उहाँको डेब्यु निर्देशन हो ।
चलचित्रमा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घलेलगायत कलाकारको अभिनय छ । बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित चलचित्रले खराब श्रीमान् र दयालु श्रीमतीबीचको कथा भन्छ ।
शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको चलचित्र मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको हो । चलचित्रको कार्यकारी निर्मातामा रामबाबु गुरुङ र अपिल विष्ट हुनुहुन्छ । माघ २६ मै दयाहाङ अभिनित अर्को फिल्म ‘हात्तीछाप’ पनि प्रदर्शनमा आउँदैछ ।




















