हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु।

काठमाडौं:= प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्। शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।

यस्तै नेपाली राजदूतावास इजरायलकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ रहेको छ।

यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० रहेको छ  ।

साथै  तेल अविवस्थित नेपाली राजदूतावास  कान्ता रिजालको नम्बर ‌+९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर +९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले इमलेहरु nepal.embassy@012.net.il र rescue@mofa.gov.np पनि उपलब्ध गराएको छ ।