टोकियो (जापान):= आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठले जापानका विभिन्न शहरमा पुगेर स्थानीय गैर आवासीय नेपालीहरुसँग साक्षात्कार छलफल गरिरहेका छन् ।
यसै सिलसिलामा उनले बुधबार एनआरएनए महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीलाई साथमा लिएर सिनओकुवो टोकियोमा एनआरएनएको भावी योजनाका विषयमा साक्षात्कार गरे । उक्त अवसरमा एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न र संस्थाको गरिमा बढाउन रणनीतिक रुपमा काम शुरु गरेको उनले जानकारी गराए ।
विभिन्न देशका नेपालीहरुसंग सुझाव लिनका लागि दौडाहामा निस्किएका अध्यक्षका प्रत्यासी श्रेष्ठले भने,‘देश, समाज र गैर आवासीय नेपालीका लागि क्याटगरी छुट्याएर काम गर्नुपर्ने अवस्थामा छौं । यतिबेला अत्यन्तै ठूलो जिम्मेवारी हाम्रो काँधमा छ । भिन्न देशका भिन्न योजनाहरु लिएर यहाँ उपस्थित भएको छु । सबैको सदभाव, माया र शुभेच्छा पाउनेमा विश्वस्त छु ।’
विशेषत: नेपालको समृद्धिमा काम गर्नुपर्ने भएकाले सरकारका विभिन्न निकाय र अंगहरुसँग मिलेर काम गर्न आफु कटिबद्ध रहेको उनले जनाए । प्रतिबद्धता पत्रमा उल्लेख भएका योजनाहरु कार्यान्वयनमा ल्याउन एक्सन प्लान र दुई बर्षे रणनीति बनाएर काम गर्न इच्छुक रहेको उनले जानकारी दिए । ‘नेपालमा लगानी गर्छु भनेर मात्र हुँदैन । लगानी गर्न मेकानिजम आवश्यक छ । त्यो मेकानिजम मैले तयार गरेको छु । सरकार र प्रवासी नेपालीहरुको मन जित्नेगरी काम गरेर देखाउँछु,’ उनले स्पष्ट पारे ।
खाडी मुलुकमा भोगिरहेका नेपालीहरुको समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै हालका उपाध्यक्ष समेत रहेका श्रेष्ठले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
‘श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउनुपर्नेछ । साथै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्न म कटिबद्ध छु,’ उनले भने । महिलाहरुको पाठेघर सम्बन्धी समस्या नेपालमा विकराल बन्दै गएकाले स्वास्थ्य क्षेत्रमा विभिन्न योजनाहरु बनाएर काम गर्न आफू नेतृत्वमा पुग्ने प्रयासमा रहेको उनले जनाए ।
अध्यक्ष प्रत्यासी श्रेष्ठले युवा तथा महिलालाई संघमा प्रमुख भूमिका दिनुका साथै नेपाल बाहिर हुर्की रहेको दोश्रो पुस्तालाई नेपालसंग जोड्नआफुले विभिन्न कार्यक्रम हरु ल्याउने पनि जनाएका छन्।




















