एजेन्सी:= एसिया कप क्रिकेटको सुपर ४ अन्तर्गत आज आइतबार भारत र पाकिस्तानबीचको खेल हुँदैछ । एकअर्काका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ। सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ ।
यस एशिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुँदैछ । समूह चरणमा भएको खेल बर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए । सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि बर्षाले पाकिस्तानको ब्याटिङ शुरु नै हुन सकेको थिएन ।
भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन ‘रिजर्भ डे’ हुने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा बर्षाको अनुमानपछि यो खेलमा एक दिन ‘रिजर्भ डे’ हुने औपचारिक घोषणा गरको छ । जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र ‘रिजर्भ डे’ को व्यवस्था गरिएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ । त्यस्तै ५ खेलको नतिजा निस्केको छैन ।




















