नेपाली तेक्वान्दो टोलीको वैदेशिक प्रशिक्षण थाइल्याण्डमा हुने।

काठमाडौं := चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको थप तयारी गर्न तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्याण्ड प्रस्थान गरेको छ ।

नौ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, राखेप बोर्ड एवं कार्यकारी समितिकी सदस्य नन्दा बस्याल र राखेपका सदस्य मानदेव हजराले सोमबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

पुरुष खेलाडीमा राहुल कुमाल (५८ केजीमुनि), गोविन्दबहादुर आले (६३ केजीमुनि), वीरबहादुर महरा (६८ केजीमुनि), अभिषेक बराल (८० केजीमुनि) र ज्याकी यादव (८० केजीमाथि) रहनुभएको छ ।

महिलामा अञ्जली तामाङ (४९ केजीमुनि), आयशा लामा (५३ केजीमुनि), सन्ध्याकुमारी सिंह (५७ केजीमुनि) र इन्दिरा बस्नेत (६७ केजीमुनि) रहनुभएको छ । प्रशिक्षकमा टीकाप्रसाद लिम्बू, कुमार लामा घिसिङ र ज्ञानी चुनारा (स्वयंसेवक) रहनुभएको छ । टोली सेप्टेम्बर १७ तारिख नेपाल फर्कनेछ ।

हाङझाव एसियाडको पुम्सेमा सहभागी हुने खेलाडी प्रेमबहादुर लिम्बू र स्वस्तिका तामाङ भने मलेसियामा वैदेशिक प्रशिक्षणपश्चात् स्वदेश फर्किसकेको प्रशिक्षक लिम्बूले जानकारी गराउनुभयो ।