[ यज्ञराज जोशी ]
काठमाडौं:= एसिया कप क्रिकेटको पहिलो खेलमा आज(बुधबार) नेपालले विश्व नम्बर १ टोली पाकिस्तानविरुद्ध खेल्दै छ । नेपाल र पाकिस्तानविरुद्धको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा आज दिउँसो ३ः४५ बजे हुनेछ ।
नेपाली क्रिकेट इतिहासमा पहिलोपटक कुनै पनि वरीयता शीर्ष टोलीसँग खेल्न लागेको हो । पाकिस्तान गत शनिबार अफगानिस्तान विरुद्धको तीन खेलको ओडिआई सिरिज क्लिनस्वीप गर्दै शीर्ष स्थानमा उक्लिएको थियो ।
यसअघि नेपालले वरीयताको हिसाबमा खेलेको सबैभन्दा ठूलो टोली वेस्टइण्डिज हो । दुई महिना अघि जिम्बावेमा नेपालले वेस्टइण्डिजविरुद्ध खेलेको थियो । आइसिसी विश्व ओडिआई वरीयतामा त्यस समय वेस्टइण्डिज १०औँ र नेपाल १४औँ स्थानमा थिए । त्यसलगत्तै नेपालले ११औँ स्थानमा रहेको जिम्बावेसँग पनि खेलेको थियो ।
गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।
एसिया कपका लागि नेपाली टोली एक साताअघि नै पाकिस्तान प्रस्थान गरिसकेको थियो । अदालती पेसीका कारण सन्दीप लामिछाने भने सोमबार मात्रै पाकिस्तान प्रस्थान गर्नुभएको छ । यसपल्ट एसिया कप पाकिस्तान र श्रीलंकाले सञ्चालन गर्दै छ ।
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलंकामा हुनेछन् । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलंकामा खेल्नेछ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
नेपाली टोलीलाई हौसला बढाउन पाकिस्तानी टोलीका विकेटकिपर मोहम्मद रिजवानले नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई भेट गर्दै हौसला दिनुभएको थियो । वर्तमान क्रिकेटका स्टार खेलाडी रिजवानले तीव्र गतिका बलर सोमपाल कामीलगायत खेलाडीलाई भेट्दै टिप्स दिनुका साथै शुभकामना दिनुभएको थियो ।
पाकिस्तानविरुद्धको खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।
कप्तान रोहित पौडेलले एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने बताउनुभएको छ। एसिया कपको उद्घाटन खेलअघि पत्रकार सम्मेलनमा कप्तान रोहितले प्रतियोगितामा पाकिस्तान र भारतलाई प्रतिस्पर्धात्मक चुनौती पेश गर्ने बताउनुभएको हो। ‘एसिया कप नेपालका लागि ठूलो उपलब्धि हो ।
पाकिस्तान ठूलो टिम हो, उहाँले भन्नुभयो, ‘तर पाकिस्तानविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ । हामी लायक छौं, त्यही भएर एसिया कपमा छौं ।’ एसिया कप यो वर्ष ५० ओभरको हुनेछ । श्रीलंकाले एक वर्षअघि टी-२० ढाँचामा जितेको थियो ।
प्रत्येक समूहका शीर्ष दुई टोलीले सेप्टेम्बर १७ मा कोलम्बोमा हुने फाइनल स्पर्धा गर्नेछन् भने शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । क्रिकेटको पावरहाउस भारतले सबैभन्दा धेरै एसिया कप जितेको छ ।




















