९६औं अस्कर अवार्डका लागि नेपाली चलचित्रको आवेदन माग।

काठमाडौं := एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि आवेदन माग गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै समितिले नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो । समितिले एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिश गर्नेछ ।

उक्त अवार्ड प्रतियोगितामा सहभागी हुन चाहने नेपाली चलचित्र निर्देशक र निर्माताहरूले भदौ २९ गतेभित्र समितिको सचिवालयमा चलचित्र दर्ता गराउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। सो प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र ०७९ असोज १५ गतेभन्दा पछि तथा ०८० असोज १४ गतेभन्दा अगाडि नै सार्वजनिक प्रदर्शन गरिएको हुनुपर्नेछ ।

दरखास्तका साथमा चलचित्र जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, ओटीटीमा सार्वजनिक भएको भए त्यसको प्रमाण, ३५ एम.एम.वा ७० एम.एम.को भिडियो वा २४-४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा हुनुपर्नेछ ।

२०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल सिनेमा, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकारका साथै सबै प्राविधिकको नामावली, अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश समावेश हुनुपर्नेछ ।

चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्र घरमा सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।