अभिनेत्री काजोलले दिएको ‘नेताको पढाइ र अशिक्षित नेता’ भन्ने अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु।

एजेन्सी := अभिनेत्री काजोलले दिएको ‘नेताको पढाइ’ भन्ने अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । धेरै प्रयोगकर्ताले उहाँलाई ट्रोल गरिरहेका छन् । विवाद बढ्दै गएपछि काजोलले आफ्नो वयानमा स्पष्टीकरणसमेत दिनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘मैले शिक्षा र यसको महत्वबारे कुरा गरिरहेकी थिएँ । कुनै पनि नेतालाई बदनाम गर्ने मेरो उद्देश्य थिएन । देशलाई सही बाटोमा लैजाने केही महान् नेताहरू छन् ।’

अभिनेत्री काजोल आफ्नो आगामी शो ‘द ट्रायल’को बारेमा एक सञ्चारमाध्यमसँग कुरा गर्दै भारतको भविष्य र नेताहरूको शिक्षाको बारेमा वयान दिनुभएको थियो । कुराकानीमा काजोलले भन्नुभएको थियो ‘विशेषगरी भारतजस्तो देशमा परिवर्तनको गति निकै सुस्त छ किनभने हामी अझै पनि हाम्रा परम्परामा अड्किएका छौं ।

यसको तार हाम्रो शिक्षासँग जोडिएको छ’, उहाँले भन्नुभएको छ, ‘हामीसँग शैक्षिक पृष्ठभूमि नभएका नेता छन् । मलाई माफ गर्नुहोस् तर मैले भन्नैपर्छ, हामीमाथि शासन गर्ने धेरै नेताहरूसँग शिक्षाबाट आउने दृष्टिकोण छैन । मलाई लाग्छ कि शिक्षाले कम्तिमा अर्को दृष्टिकोण हेर्ने मौका दिन्छ ।’